
मेचीनगर । मेचीनगरका १५ वटै वडा र नगरपालिका कार्यालयमा क्यूआरमार्फत् सहजै भुक्तानी गर्न सकिने भएको छ ।
यही चैत १८ गतेदेखि मेचीनगर नगरपालिकामा कर तिर्न डाइनामिक क्यूआर मार्फत् सेवाग्राहीले रकम बुझाउन सक्ने भएका हुन् । करदाताले अब नगद बोकेर जाने झनझटबाट मुक्ति पाउने भएका राजश्व परामर्श समितिका संयोजक नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् ।
नगरपालिकाले प्रयोग गरिरहेको राजश्व सफ्टवेयर सफ्टेक इन्फोसिसको माध्यमबाट डाइनामिक क्यूआर मार्फत करदाताले कर तिर्न सकिने उनको भनाई छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले करदाताका लागि यस्तो सुविधा उपलब्ध गराउने तयारी गरिएको बताए ।
मेचीनगरमा दीर्घकालीन सेवा र परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत् अनलाइन पेमेन्ट गर्ने र नगरपालिकालाई पेपरलेस बनाउन नयाँ सुविधा थप गरिएको उनको भनाई छ ।
डाइनामिक क्यूआर प्रयोगका लागि १५ वटै वडाका वडा सचिव, वडाका राजश्व तर्फका कर्मचारी र नगरपालिका कार्यालयका १० जना कर्मचारी गरी ४० जनालाई राजश्व व्यवस्थापन सम्बन्धी तीन दिवसीय अभिमुखीकरण तालिम सुरु गरिएएको छ ।
अभिमुखीकरण कार्यक्रमको उद्घाटन उपप्रमुख उप्रेतीले गरेकी थिइन् । कार्यक्रममा उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले गरेका थिए ।
सहभागी कर्मचारीहरुलाई सफ्टेक इन्फोसिसका विज्ञ दिनेश घिमिरेले प्रविधिमैत्री प्रशिक्षण दिइरहेको उनले जानकारी दिए ।
उनले भने– ‘करदाताको आफ्नै डाइनामिक क्यूआर कोड बन्ने छ । आफ्नै क्यूआरबाट कर तिर्न, कति बाँकी रहेको छ भनी हेर्न, कति कर तिरियो भन्ने सबै हेर्न मिल्छ ।’