
झापा । भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ। प्लाइउड बोकेका ३४ वटा ट्रकलाई भारतस्थित पानीट्याङ्की स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसाईंले बताए।
ती ट्रक दुई साताअघि काँकडभिट्टा नाकाबाट भारत गएका थिए। भारतीय भन्सार कार्यालयले ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) नभएको भनी नेपाली सामानलाई रोकेको प्रसाईंले जानकारी दिए।
बिआइएस भारत सरकारको गुणस्तर प्रमाणपत्र हो। भारतले आयात हुने सामान बिआइएस प्रमाणित हुनुपर्ने नयाँ नियम लगाएपछि नेपालबाट प्लाइउड, सिमेन्टलगायत उत्पादनको निर्यात रोकिएको छ।
‘नेपालबाट प्लाइउड बोकेर भारत गएका ती ट्रक पानीट्याङ्कीस्थित भारतीय भन्सारमा रोकिएका छन्’, अध्यक्ष प्रसाईंले भने, ‘न जान दिएको छ, न स्वदेश नै फर्काउन सकिने अवस्था छ।’ भारतीय भन्सारले तत्काल नेपाल नफर्काए सामान जफत गरिदिने चेतावनी दिइरहेको प्रसाईंले बताए। नेपाली पक्षले ती सामान निर्यातका लागि भारत सरकारलाई जिएसटी करसमेत तिरिसकेको जनाएका छन्।
नेपालमा ८० वटा प्लाई उद्योग स्थापना भएका छन्। एउटा उद्योग स्थापनाका लागि न्यूनतम रु. २५ करोड लगानी हुने उद्योगीहरू बताउँछन्। भारतीय पक्षबाट अवरोध भइरहे प्लाइउड उद्योगमा भएको अर्बौं लगानी जोखिममा पर्ने र हजारौँले रोजगारी गुमाउने जनाइएको छ।
आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट रु।.सात अर्ब ४३ करोड मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको थियो। मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ऋषि तिम्सिनाले भारतले नेपालबाट सबैभन्दा धेरै निर्यात हुने सिमेन्ट र प्लाइउडमा भन्सार अवरोध हुँदा ठूलो आर्थिक क्षति पुगिरहेको बताए।
प्लाइउड नेपाली कच्चा पदार्थमा आधारित र व्यापार घाटा न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने निर्यात वस्तु भएकाले यसको निर्बाध निर्यातको वातावरण बनाउन सरकारले भारत सरकारसँग उच्चस्तरीय सहमति बनाउनुपर्ने तिम्सिनाको सुझाव छ।