
झापा । सन् २०३२ को ओलम्पिकपछि गाब्बा स्टेडियम भनेर चिनिने अस्ट्रेलियाको प्रतिष्ठित ब्रिस्बेन क्रिकेट मैदान भत्काइने भएको छ ।
ओलम्पिकपछि ब्रिस्बेन क्रिकेट मैदान भत्काइने र ओलम्पिकका लागि ब्रिस्बेनको भिक्टोरिया पार्क क्षेत्रमा बनाइने ६० हजार सिट क्षमताको नयाँ रङ्गशालामा क्रिकेट सर्नेछ ।
क्वीन्सल्यान्ड क्रिकेट, एएफएल र ब्रिस्बेन लायन्ससँग मिलेर भिक्टोरिया पार्कमा रङ्गशाला निर्माण गर्ने र यो महत्त्वपूर्ण लगानीले क्रिकेट प्रशंसक र क्वीन्सल्यान्डका नागरिकलाई दीर्घकालीन फाइदा पुर्याउने कुरा सुनिश्चित गर्न क्रिकेटले प्रमुख भूमिका खेल्ने क्रिकेट अस्ट्रेलियाको विज्ञप्तिमा उल्लेख छ ।
सन् २०२१ को जुलाईमा क्वीन्सल्यान्डको राजधानीलाई २०३२ को ग्रीष्मकालीन ओलम्पिक र प्यारालम्पिकको आयोजकत्व प्रदान गरिएको थियो । योसँगै सन् १९५६ को मेलबर्न र त्यसपछि २००० को सिड्नीपछि तेस्रो पटक ओलम्पिक अस्ट्रेलियामा फर्किन लागेको हो ।
गाब्बामा सन् १९३१ मा पहिलो टेस्ट क्रिकेट आयोजना भएको थियो । त्यस बेलादेखि गाब्बामा ६७ पुरुष र दुई महिला टेस्ट क्रिकेट खेलिएका छन् ।