२०८१ चैत १२, मङ्गलवार , ०४:४४:०१ बजे

Sajhamanch
'

लगातार ८ जीतसहित पुलिस फाइनलमा, ललित बने पीएम कपमा १०० विकेट लिने पहिलो खेलाडी

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब लगातार आठ जीतसहित एक खेलअघि नै फाइनलमा पुगेको छ ।

दाङको देउखुरी रङ्गशालामा भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले हरायो । पुलिसले दिएको १४८ रनको लक्ष्य पछ्याएको कर्णाली २४ ओभरमा १ सय ३ रनमा अलआउट भयो ।

कर्णालीका रविन्द्र शाहीले ४९ र अर्जुन घर्तीले ३० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पुलिसका ललित राजवंशीले ६ विकेट लिए ।

योसँगै ललित प्रधानमन्त्री कप क्रिकेटमा एक सय विकेट लिने पहिलो बलर बनेका छन् । ललितले ४२ खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।

प्रधानमन्त्री कप क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लबका शाहब आलम छन् । शाहबले ४८ खेलमा ९९ विकेट लिएका छन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभरमा १४७ रन बनाउँदा सबै विकेट गुमायो । पुलिसका अर्जुन साउदले ३६, दिलिप नाथले ३४ रन बनाए ।

कर्णालीका अनुज चनाराले ४ विकेट लिए । यो जीतसँगै पुलिस ८ खेलमा १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । कर्णाली ९ खेलमा ८ अङ्कसहित पाँचौं स्थानमा छ ।

यस्तै रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा पनि मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४४ रनले हराएको छ । मधेशले दिएको १०३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमा अलआउट भयो ।

सुदूरपश्चिमका हेमन्त धामीले सबैभन्दा धेरै १९ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । मधेशका विशाल पटेलले ६ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले ४२ ओभर ३ बलमा १०२ रन बनाउँदा सबै विकेट गुमायो । मधेशका प्रदीप पासवनले नटआउट २३ रन बनाए ।

सुदूरपश्चिमका हमेन्त धामी र शेर मल्लले ४र४ विकेट लिए । यो जीतसँगै मधेशले ८ खेलमा ६ अङ्क जोडेको छ भने सुदूरपश्चिमको ९ खेलमा ६ अङ्क छ ।

सम्बन्धित खबर