
दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ खैरास्थित सांग्रिला प्लाइ तथा भेनियर उद्योगमा लागेको आगो ३० घन्टा हुँदासम्म पनि नियन्त्रणमा आएको छैन।
सोमबार बिहान १ बजेदेखि लागेको आगो अहिलेसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार मंगलबार बिहान १० बजेसम्म करिब ९० प्रतिशत आगो नियन्त्रणमा आएको छ। प्रजिअ लम्सालले उद्योगभित्र दुई ठाउँमा अझै पनि आगो बलिरहेको बताए।
जिल्लाका निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले उद्योग भित्रको ठूलो आगो निभे पनि स–सानो आगो कायमै रहेको बताए।
‘स– सानो आगो र धुँवा छ,’ उनले भने, ‘ एक दुई ठाउँमा अली ठूलो आगो कायमै छ।’
ठूलो क्षेत्रफलमा उद्योग रहेको हुँदा त्यसभित्र भण्डारण गरी राखिएका काठमा सल्किएकोले निभाउन सकस भएको उनले बताए। उद्योगको आगोले नजिकैको बस्तीमा जोखिम भने नरहेको उनले बताए।
आगो निभाउन रूपन्देही, कपिलवस्तु, बाँके र बर्दियाबाट गरी ८ वटा दमकल ल्याइएको थियो। यीमध्ये केही दमकल बिग्रँदा प्रयोगमा ल्याउन सकिएको थिएन।
अहिले आगो निभाउने कार्यमा घोराही उपमहानगरपालिकाको दमकल मात्रै प्रयोग गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रजिअ लम्सालका अनुसार सोमबार बिहान १ बजेतिर उद्योगमा आगोलागी भए पनि त्यसको एक घन्टा पछि दुई बजेमात्रै प्रहरी प्रशासनलाई खबर भएको थियो।
खबर पाएको १५ मिनेटभित्रै प्रहरी घटनास्थल पुगेका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका साथै स्थानीय पनि आगो निभाउन खटिएका थिए।
आगो समयमै नियन्त्रणमा आउन नसक्नुको कारण ठूलो उद्योगभित्रको काठलगायतमा आगो फैलनु हो।
ठूलो मात्रामा काठ, प्लाइ, केमिकल वा लिक्विड उद्योगभित्र रहेको र त्यसमा आगो लागेपछि उद्योगभित्र पूरै आगो फैलिएर समयमै निभाउन निकै चुनौती खेप्नु परेको उनले बताए।
उनले उद्योगभित्र सबैतिर टिनको छाना भएको हुँदा पनि दमकलबाट पानी खन्याउन गाह्रो भएको बताए।
उद्योग सञ्चालक गेहेन्द्रबहादुर बस्नेतका अनुसार २०६३ सालदेखि घोराही ९ को खैरामा ‘सांग्रिला प्लाइ तथा भेनियर उद्योग’ सञ्चालन भइरहेको थियो।
गेहेन्द्रले उद्योगमा आगलागी भएकोबारे बिहान २ बजे थाहा पाएका थिए।
उद्योगमा आगलागी भएको हुँदा तत्कालै बिद्युतको लाइन काट्न मजदुरहरूले आग्रह गरेका थिए। बिजुली सर्ट भएर आगलागी भएको अनुमान छ।