२०८१ चैत १३, बुधवार , ०२:४०:०४ बजे

Sajhamanch
'

दाङको प्लाई उद्योगमा १० घण्टादेखि आगलागी, ३० भन्दा बढी घर जोखिममा

सोमवार, चैत ११, २०८१

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा १० घण्टादेखि आगलागी भइरहेको छ ।

आगो निभाउने प्रयास भइरहेको तर नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कविराज रोकायले उज्यालोलाई जानकारी दिए।

उद्योगमा काठ र अरू कच्चा पदार्थ धेरै भएकाले आगो निभाउन समस्या भएको छ । छ वटा दमकलबाट आगो निभाउने प्रयास भइहेको र आसपासका जिल्लाबाट पनि दमकल मगाइएको प्रहरीले जनाएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ । उद्योगमा बिजुली सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन् । ती घरका सामान बाहिर निकालिएको र त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित ठाउँमा लगिएको उनले बताए।

आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ । उद्योगमा गएराति २ बजेदेखि आगो लागेको हो । आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासी खटिएका छन् ।

सम्बन्धित खबर