
काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । गएको शुक्रबार तोलामा एक हजार र हिजो ९०० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ६०० रुपैयाँले घटेको हो ।
आज सुन तोलाको एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७६ हजार रुपैयाँ पुगेको थियो ।
बिहीवार पनि सुन यही भाउमा कारोबार भएको थियो । शुक्रवारदेखि भने भाउ घट्न थालेको हो । आज चाँदीको भाउ भने यथावत् छ । चाँदी तोलाको एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।