
इलाम । १३ वर्षीया नाबालिकाको बलात्कार घटना लेनदेन गरी मिलाउने खोज्ने इलाममा चार जना पक्राउ परेका छन् ।
बलात्कार घटना ३ लाख रुपैयाँ दिएर मिलाउन खोज्ने इलाम माई नगरपालिका-२ बस्ने २४ वर्षीय केशव गिरी, उनका बुवा ५८ वर्षीय केदारनाथ गिरी, काका ४३ वर्षीय यादव भनिने नारायण गिरी र छिमेकी ३८ वर्षीय पाँचथरे भनिने तुलाधर अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।
घटना पश्चात् लुकिछिपी बसिरहेको अवस्थामा उनीहरूलाई आइतबार प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक सञ्जीव बोगटीको कमान्ड खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला अदालत इलामबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
गत चैत ६ गते साँझ ६ः३० बजे इलाम माई– २ सितलीस्थित चिया बगानमा माई नगरपालिका-२ बस्ने २४ वर्षीय केशव गिरीले १३ वर्षीया नाबालिकालाई ललाइफकाइ डर त्रासमा पारी बलात्कार गरेका थिए । त्यस घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी दानावारिबाट प्रहरी टोली खटिएर खोजतलास गर्दा पीडित फरार भएका थिए ।
त्यसबीचमा छिमेकी अर्यालले आफ्नो घरमा पीडित पक्षलाई बोलाई ३ लाख रुपैयाँ दिएका थिए । अनुसन्धानको क्रममा उक्त रकम पीडितका आमाको साथबाट बरामद गरिएको छ ।
आफूलाई प्रभाव र दबाबमा पारी घटना मिलाउन खोजेको भन्दै पीडितकी आमाले चैत ९ गते जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएकी थिइन् ।