
काठमाडौं । मुम्बई इन्डियन्सलाई चार विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी शुरुआत गरेको छ । जीतको लागि १५६ रनको लक्ष्य पाएको चेन्नईले १९ ओभर एक बलमा छ विकेट गुमाएर पूरा गर्यो ।
चेन्नइको जीतमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रले अर्धशतक बनाए । बलिङमा भिगनेश पुथुरले तीन विकेट लिए । त्यसअघि पहिले व्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा नौ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।
मुम्बईका तिलक बर्माले सर्वाधिक ३१ रन बनाए । चेन्नईका नूर अहमदले चार विकेट लिए । यस्तै खालिद मोहम्मदले तीन विकेट लिए । जीतसँगै चेन्नइले दुई अङ्क जोडेको छ । मुम्बइले भने हारबाट लिगको शुरुआत गरेको छ ।
यस्तै हिजोको पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले हराएको छ । हैदरावदले दिएको २८७ रनको कीर्तिमानी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै २४२ रन मात्रै बनाउन सक्यो ।
राजस्थानका धुर्व जिरेलले सर्वाधिक ७० रन बनाए । सन्जु साम्सनले ६६ रन बनाए । हैदराबादका हर्षल पटेल र सिमरजित सिंहले समान दुई विकेट लिए ।
त्यसअघि राजिव गान्धी इन्टरनेसनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली हैदराबादले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै २८६ रन बनाएको थियो । हैदराबादले आईपीएल इतिहासमा बनाएको यो सबैभन्दा दोस्रो ठूलो लक्ष्य हो ।
गत वर्ष पनि हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध २८७ रनको कीर्तिमान बनाएको थियो । हैदराबादका इशान किशनले अविजित रहँदै सर्वाधिक एक सय छ रन बनाए ।
आईपएलमा उनको यो पहिलो शतक हो । उनी यसै सिजन मुम्बई इन्डियन्सबाट हैदरावाद पुगेका हुन् । राजस्थानका तुषार देशपाण्डेले तीन विकेट लिए । जीतसँगै हैदराबादले पनि दुई अङ्क जोडेको छ ।