
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका किरण ठगुन्नाले एकै सिजनमा दुई शतक बनाउने कीर्तिमान बराबरी गरेका छन् ।
किरणले गएको संस्करणमा दुई शतक प्रहार गरेका त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारी र सन् २०२२ मा दुई शतक प्रहार गरेका नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीको कीर्तिमान बराबरी गरेका हुन् ।
गएको संस्करणमा विनोदले मधेश प्रदेश र कर्णाली प्रदेशसँगको खेलमा शतक बनाएका थिए । यस्तै २०२२ मा दीपेन्द्रले बागमती प्रदेश र आर्मीसँगको खेलमा शतक बनाएका थिए ।
किरणले आज दाङको देउखुरी रङ्गशालामा कोशी प्रदेशसँगको खेलमा शतक बनाएका हुन् । किरण ९१ बलमा ११५ रन बनाएर आउट भए । यसअघि किरणले गण्डकी प्रदेशसँगको खेलमा शतक बनाएका थिए ।
अहिले कोशीले सुदूरपश्चिमले दिएको २४३ रनको लक्ष्य पछ्याइरहेको छ । यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले किरणको शतकको मद्दतमा ४३ ओभर ४ बलमा २४२ रन बनाउँदा अलआउट भयो ।