
पर्सा । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार चालू आर्थिक वर्षको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व सङ्कलन भएको छ । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले गएको साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड राजस्व सङ्कलन गरेको थियो ।
असोजमा चार अर्ब ३६ करोड, कात्तिकमा तीन अर्ब ७९ करोड, मङ्सिरमा तीन अर्ब २२ करोड, पुसमा तीन अर्ब ५६ करोड, माघमा चार अर्ब २९ करोड र फागुनमा चार अर्ब ६८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको हो । चालू आर्थिक वर्षको आठ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुनमा सङ्कलन भएको छ ।