२०८१ चैत ११, सोमवार , ११:२१:३४ बजे

Sajhamanch
'

हिमपात र वर्षाले किसानलाई राहत, आजदेखि मौसममा क्रमिक सुधार आउने

आइतवार, चैत १०, २०८१

काठमाडौं । हिमपात र वर्षाले किसानलाई राहत पुगेको छ । अहिलेका मुख्यबाली गहुँ, जौ, आलुसहित तरकारी र फलफूल खेती गरेका किसानलाई राहत पुगेको हो । यसवर्ष हिउँद निक्कै सुक्खा भएर बित्यो ।

अहिले प्रि–मनसुनको बेला देशका कतिपय ठाउँमा छिटपुट तथा मध्यम वर्षा र हिमपात भएको छ । खेतबारीमा लगाएको गहुँ, मकै, तरकारीबाली र फलफूल बगैँचामा हल्का भए पनि सिँचाइ भएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ का नरबहादुर भण्डारीले बताए। नहाँका अनुसार लामो समयपछि हिजो जमिन भिज्ने गरी पानी परेको छ ।

हिमपात भएपछि पर्यटकीय उच्च क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायीले बताएका छन् । हिजो म्याग्दी, गोरखा, तनहुँ, प्युठान, गुल्मी लगायतका ठाउँमा पानी परेको थियो । गएराति मधेस प्रदेशसहित देशका धेरै ठाउँमा पानी परेको छ । अरू ठाउँको तुलनामा मधेसका सप्तरी, सिरहा, महोत्तरीमा धेरै पानी परेको छ ।

यस्तै काठमाण्डौसहित देशका केही ठाउँमा हावाहुरीसमेत चलेको थियो । आज बिहान पनि मधेससहित पूर्वी तराईका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी परेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली रहने र बाँकी ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । आजदेखि पश्चिमबाट मौसममा क्रमिक सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर