
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ जना पर्यटकले ज्यान गुमाएका छन् । गएको वैशाखदेखि अहिलेसम्म नौ विदेशी तथा दुई जना नेपाली पर्यटकको लेक लागेर ज्यान गएको हो ।
मुक्तिनाथ दर्शन तथा भमणका क्रममा पाँच जनाको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथमा, पाँच जनाको घरपझोङ–४ जोमसोममा र एक जनाको थासाङ गाउँपालिका–२ मा लेक लागेर ज्यान गएको हो ।
ज्यान गुमाउनेमा सबैभन्दा धेरै भारतीय पर्यटक छन् । मुक्तिनाथ मन्दिरको दर्शन तथा मुस्ताङको भ्रमणका क्रममा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए। लेक लागेर ज्यान गुमाउनेहरुको उमेर ५८ वर्षदेखि ८१ वर्ष छ ।
अघिल्लो वर्ष २०८० मा १७ जनाले ज्यान गुमाएका थिए । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्वास्थ्य कार्यालय, पालिका, प्रदेश अस्पताललगायत सरोकारवाला निकायले लेक लाग्ने समस्या र यसको जोगिन चेतनामूलक कार्यक्रम, प्रचारप्रसार र पर्चापम्प्लेट वितरण अभियान सञ्चालन गर्दै आएका छन् ।
बेँसीको समथरबाट उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा पर्यटकलाई लेक लाग्ने समस्या हुन्छ । विशेषतः समुद्री सतहबाट तीन हजार ८०० मिटरको उचाइदेखि लेक लाग्न थाल्छ । ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त र दीर्घरोगीलाई लेक लाग्ने गरेको पाइएको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज भुवन क्षेत्रीले जानकारी दिए।