
इजरायलले दक्षिणी लेबनानमा हवाई हमला गरेको छ । उत्तरी इजरायलमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट हमला गरेपछि आफूले पनि जवाफी हमला गरेको इजरायलले जनाएको छ । यो हमलापछि इजरायल–लेबनान सीमा क्षेत्रमा तनाव बढेको छ ।
युद्धविराम उल्लंघन गरेको भन्दै दुवै देशले एकअर्कालाई दोष दिइरहेका छन् । लेबनानले आफूहरुलाई युद्धमा तान्न खोजेको भन्दै इजरायलको आलोचना गरेको छ ।बीबीसीका अनुसार इजरायलले लेबनानको टालिन, केफर मेल्की, म्लेता र वादी अल हुजेर नजिकको गाउँमा आक्रमण गरेको छ । टालिनमा एक आवासीय भवन नष्ट भएको छ । त्यसमा एक व्यक्तिको मृत्यु भएको र तीन जना घाइते भएको जनाइएको छ ।
यसअघि इजरायली सेनाले लेबनानबाट उत्तरी इजरायलको मेटुला शहरतर्फ रकेट आक्रमण भएको र त्यसलाई आकासमै नष्ट गरेको जनाएको थियो । इजरायलको आपतकालीन सेवाका अनुसार यो आक्रमणमा इजरायलतर्फ कुनै पनि हताहत भएको छैन ।
समाचार एजेन्सी सिन्ह्वाका अनुवाका लेबनानमा शान्ति र स्थिरता बहाल गर्न दक्षिणी लेबनानमा सैन्य इकाइहरु थपिएको छ ।इजरायली सेनाले भने प्रधानमन्त्री वेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल केट्जको निर्देशनमा लेबनानलाई कडा जवाफ दिने जनाएको छ । उसले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीले हिजबुल्लाहका संरचनाहरुमा आक्रमण गरेका छौं । हामीले कडा जवाफ दिने कसम खाएका छौं ।’एजेन्सी