
अवकाश भन्ने कुरा पारम्परिक रुपमा पाको उमेरसँग जोडिन्छ । यद्यपि अहिलेका मानिसहरू बुढो नहुँदै रिटायर्ड हुने र ४० कै आसपासबाट मज्जाले अवकाश प्राप्त जीवन जिउने सपना राख्छन् । उता एकजना रुसी युवकले चाहिं २३ वर्षको उमेरमै पेन्सर पकाएर अवकाश लिएका छन् ।
वास्तवमा पाभेल स्टेप्चेन्को नामका ती युवाको कथा निकै असाधारण लाग्छ ।१६ वर्षको उमेरमा उनी रुसको गृह मन्त्रालय अन्तरगतको शैक्षिक संस्थामा भर्ना भए । पाँच वर्ष त्यहाँ गहन अध्ययनसँगै उनले आन्तरिक मामिला प्रणालीको भौगोलिक शाखामा काम गर्न सुरु गरे ।
डोनेट्स्क क्षेत्रका बासिन्दा पाभेलले त्यहाँ आधिकारिक रुपमा जम्मा २ वर्षमात्रै काम गरे र २३ वर्षमा आधिकारिक रुपमा अवकाश लिए । किनकि उक्त क्षेत्रमा मार्सल कानून लागू भएको बेलाको कानूनी प्रावधान अनुसार उनले सेवा गरेको हरेक महिनाको लागि ३ महिना थप सेवा गरेबापतको सुविधा दिने प्रावधान थियो । उनले सोही विशेष प्रावधानको पूर्ण लाभ लिए ।सन् २०२३ को नोभेम्बर २८ मा उनले रुसी मार्सल कानून बमोजिम सरकारी सेवाबाट अवकाशका लागि निवेदन दिए र उनको निवेदन अनुसार उनलाई पूर्णरुपमा पेन्सन दिनेगरी अवकाश दिइयो ।
पाभेलको त्यस्तो अवकाशलाई अन्तराष्ट्रिय रेकर्ड दर्ता एजेन्सीका विज्ञहरुले पनि पुष्टि गरेका छन् र उनलाई रुसको गिनिज बुक भनेर चिनिने बुक अफ रेकर्डस् अफ रसियाले सबैभन्दा कान्छा पेन्सनधारीको रुपमा दर्ज गरेको छ ।
धेरैका लागि २३ वर्षको उमेरमै पाभेलको अनौठो अवकाश केवल सपना तथा अपवाद जस्तो लाग्नसक्छ । तर, रुसको सरकारी सञ्चार माध्यमले भने उनको अवकाश रुसको सामाजिक सुरक्षा प्रणालीको सक्षमता र लचकताको एक प्रमाण भएको दाबी गरेको छ ।एजेन्सी