
काठमाडौं । प्रेस चौतारी नेपालको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी गणेश पाण्डेले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको सचिवबाट राजिनामा दिएका छन् ।
आज महासचिवलाई सम्बोधन गरी प्रचार तथा प्रकाशन विभागका प्रमुखलाई बोधार्थ दिएर पार्टी केन्द्रीय कार्यालयमा पाण्डेले राजीनामा दर्ता गराएका हुन् ।
पार्टी अध्यक्षसहित केन्द्रीय कमिटीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाहा गरिरहेको र भविष्यमा पनि गर्ने प्रतिवद्धता जनाउँदै पाण्डेले आफू प्रेस चौतारी नेपालको अध्यक्षको उम्मेदवार रहेकाले दोहोरो जिम्मेवारी नपरोस् भनेर राजीनामा पेश गरेको जनाएका छन् ।
प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशन कोशी प्रदेशको विराटनगरमा यही आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले समुद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनले ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।