
इलाम । इलाममा ४ रोपनी अफिम खेती प्रहरीले नष्ट गरेको छ । इलामको फाकफोकथुम गाउँपालिका-३ सल्लेरीमा अफिम खेती लगाएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मंगलबारे र प्रहरी चौकी आमचोकबाट प्रहरी टोली खटिएर हिजो अफिम खेती फडानी गरेको हो ।
फाकफोकथुम गाउँपालिका-३ सल्लेरीको विभिन्न स्थानमा अन्दाजी ४ रोपनी क्षेत्रफलमा लगाएको अफिम खेती इलाम प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मानबहादुर राईले बताए । सो अफिम कसले लगाएको हो भन्ने खुलेको छैन ।
“अबको युद्ध दुर्व्यसनविरुद्ध” भन्ने नाराका साथ दुर्व्यसन विरुद्धको अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय इलामले लागूऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धमा विशेष अपरेसन सञ्चालन गरेको डीएसपी राईले जानकारी दिए । अपरेसनसँगै इलामका ग्रामीण भेगहरूमा प्रहरीले सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । युवामाझ लागूऔषध दुर्व्यसनको समस्या बढ्दै गएपछि इलाम प्रहरीले यो अभियान शुरु गरेको डीएसपी राईले बताए ।