
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ को जगतबस्तीबाट बर पिपल चोक, बैंसाबाडी हुँदै अर्जुनधारा जाने सडकमा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ ।
शहरी विकास मन्त्रालयको भ्याटसहित ७७ लाख ४४ हजार ३५२ रुपैयाँ बजेटमा ९३० मिटर सडक कालोपत्रे गरिएको हो । सडकको चौडाई ५ दशमलव ५ मिटर छ ।
कञ्चनजंगा हिमाल कन्ट्रक्सन कनकाईले आयोजनाको ठेक्का पाएको थियो । ठेकेदार कम्पनीले २०८२ बैशाख ३० गतेसम्ममा काम सम्पन्न गर्ने गरी गत मंसिर २१ गते सम्झौता गरेको थियो ।
सडक कालोपत्रेको निरीक्षण गर्दै गर्दा भेटिएका बिर्तामोड वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले आफ्नो वडालाई नमूना वडाको रुपमा विकास गर्ने बताए । नगरका प्रवक्तासमेत रहेका पाण्डेले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ५ किलोमिटरभन्दा बढी सडकमा कालोपत्रे सम्पन्न गरेको पनि जानकारी दिएका छन् ।
गत हप्तामात्रै वडा नम्बर १ को अतिथिसदन रोड र धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्गमा कालोपत्रे गर्ने कार्य सम्पन्न गरिएको थियो ।