
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सिमानामा १४ ठाउँमा रहेका परम्परागत व्यापारिक नाका पुनः सञ्चालन गर्ने सम्बन्धमा सीमा व्यवस्थापनसम्बन्धी सम्झौताअन्तर्गत नेपाल–चीनबीच सन् २०१९ मै हस्ताक्षर भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन अनुमतिपत्र (प्रवेश–पास) उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको बताए।
उल्लिखित १४ नाकामध्ये बझाङमा रहेको उरै भञ्ज्याङ पनि रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । यो नाका सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय एवम् कूटनीतिक रूपमा पहल भइरहेको उनले बताए।
सांसद जोशीको अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले विकाससम्बन्धी कार्य गर्ने कार्यालय बनाई सडक, खानेपानी, सिँचाइ तथा नदी नियन्त्रण, पूर्वाधार विकासलगायत कार्य एकीकृत रूपमा सञ्चालन गर्ने सम्बन्धमा आएको सुझाव सराहनीय रहेको बताए। अहिले पालिकाबाट कतिपय सेवा एकीकृत रूपमै प्रदान भइरहेको उनले जानकारी गराए।