
काठमाडौं । ‘खुशी सबैका लागि स् एकअर्काको हेरचाह’ भन्ने मूल विषयसहित आज विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २०१२ मा गरेको घोषणा अनुसार सन् २०१३ देखि हरेक वर्ष मार्च २० लाई अन्तर्राष्ट्रिय खुशी दिवसका रूपमा मनाइँदै आएको छ ।
सामान्य भाषामा खुशी भनेको सकारात्मक भावनाको अनुभूति हो । यो क्षणिक अनुभूति वा दीर्घकालीन सन्तुष्टि पनि हुन सक्छ । वैज्ञानिक दृष्टिकोणमा खुशी हाम्रो मस्तिष्कमा उत्पादन हुने विभिन्न रसायनहरूसँग सम्बन्धित छ ।
बौद्ध धर्म अनुसार खुशी भनेको सन्तुष्टि र आन्तरिक शान्ति हो । हिन्दू दर्शनमा खुशी भनेको आत्मानुभूति र सत्य बुझ्नु हो । खुशीको परिभाषा प्राचीनकालदेखि नै बहसको विषय भए पनि यसका आधारहरू परिर्वतन भइरहन्छ ।
संयुक्त राष्ट्रसङ्घले खुशीको मापन गर्दा प्रतिव्यक्ति आय, स्वस्थ जीवन, सामाजिक समर्थन, स्वतन्त्रता, अरूलाई मद्दत गर्ने प्रवृत्ति र भ्रष्टाचारको अनुपस्थिति गरी ६ वटा सूचकलाई आधार मान्छ । रोचक कुरा आधारभूत आवश्यकताहरू पूरा भइसकेपछि थप पैसाले खुशीमा खासै वृद्धि गर्दैन ।
प्राचीनकालमा खुशीको मापन भौतिक समृद्धि र सामाजिक प्रतिष्ठामा आधारित थियो । तर आजकल खुशीलाई मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध र व्यक्तिगत स्वतन्त्रता जस्ता सूचकहरूसँग जोडिएको छ । नेपालीहरू आफ्नो आर्थिक अवस्था अनुसार अपेक्षाकृत बढी खुशी देखिनुमा सामुदायिक बन्धन र पारिवारिक सम्बन्ध मुख्य रहेको छ ।
अमेरिकाको येल विश्वविद्यालयकी मनोविज्ञान प्रध्यापक लोरी सान्तोसको सुझाव छ– ‘खुशी रहनका लागि कृतज्ञ हुनुहोस्, दैनिक आठ घण्टा आनन्दले सुत्नुहोस्, मनबाट अनावश्यक कुरा हटाउनुहोस्, परिवारका सदस्य र मनपर्ने मानिसहरूसँग समय बिताउनुहोस् अनि सामाजिक सञ्जाललाई धेरैजसो समय छुट्टी दिनुहोस् ।’