२०८१ चैत ७, बिहिवार , ०२:३०:०८ बजे

Sajhamanch
'

कमलका कृषकलाई प्रोत्साहन रकम प्रदान

बिहिवार, चैत ७, २०८१
  • उमानाथ भण्डारी

कमल । झापाको कमल गाउँपालिकाका तरकारी उत्पादक कृषकहरलाई उत्पादन वृद्धिमा टेवा पुर्याउने उद्देश्यले प्रोत्साहनस्वरुप रकम प्रदान गरिएको छ ।

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममार्फत् ब्यवसायिक तरकारी उत्पादक कृषकलाई उनीहरुले खेती गरेको जमिनको क्षेत्रफलका आधारमा रकम प्रदान गरिएको हो ।

व्यवसायिक तरकारी उत्पादन गर्ने ७० जना कृषकहरुलाई ७ लाख २१ हजार ५०० प्रदान गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।

प्रोत्साहन कार्यक्रममा सहभागी हुनका लागि कृषकले न्यूनतम ५ कठ्ठा जमिनमा तरकारी बाली लगाउनु पर्ने हुन्छ । यसैका आधारमा कृषकले ७ हजार ५०० रुपैयाँदेखि बढीमा ४५ हजार रुपैयाँसम्म प्राप्त गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर १ का अध्यक्ष केदार कटुवाल, वडा नम्बर ६ का अध्यक्ष नरेन्द्र भट्टराई लगायतले ती कृषकलाई प्रोत्साहन रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

चेक ग्रहण पछि मन्तब्य राख्दै कमल ४ का कृषक शंकरदेव श्रेष्ठले गाउँपालिकाबाट सञ्चालित यस्ता कार्यक्रमले आफूजस्ता कृषकहरुलाई धेरै नै प्रोत्साहन पुग्ने बताए । गुणस्तरीय बिउ र मलका साथै उत्पादित सामग्रीले बजार नपाउँदा कृषकले सोचेजस्तो आम्दानी गर्न नसकेको सुनाउँदै उनले त्यसतर्फ पनि पालिकाले ध्यान जानुपर्ने सुझाव दिए ।

कृषकहरुलाई प्रोत्साहन रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, वडाध्यक्षहरु नरेन्द्र भट्टराई, केदार कटुवाल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

कमल गाउँपालिका कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोराले सहजीकरण गरेको कार्यक्रममा उपस्थित सहभागीलाई कृषि शाखामा प्राविधिक प्रेम पोखरेलले शाब्दिक स्वागत गरेका थिए ।

सम्बन्धित खबर