
काठमाडौं । मकवानपुरमा भारतीय ग्यास बुलेट र ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको छ।
बिहीबार बिहान सवा ७ बजे मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ स्थित पूर्वपश्चिम सडक खण्डमा ट्रक र ग्यास बुलेट ठोक्किएर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार वीरगन्जबाट धार्के आउँदै गरेको एनएल ०१ एए ५००७ नम्बरको भारतीय ग्यास बुलेट र विपरीत दिशातर्फ जाँदै गरेको ग. १ ख ९४८१ नम्बरको ट्रक ठोक्किँदा ग्यास बुलेट सडक किनारमा पल्टिएको हो।
दुर्घटनामा मानवीय क्षति नभएको डिएसपी अर्यालले जानकारी दिएका छन्। ग्यास बुलेट सडक किनारमा पल्टिएकाले सवारी आवागमनमा अवरोध नभएको डिएसपी अर्यालले जानकारी दिए।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।