
झापा । झापामा सञ्चालित सुरक्षित आप्रवासन ९सामी० कार्यक्रमबाट प्रवाह भइरहेका सेवासम्बन्धी बृहत् छलफल गरिएको छ ।
बुधवार झापाको बिर्तामोडमा झापाका सबै नगरपालिकाका प्रमुख–उपप्रमुख तथा सबै गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष एवम् प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागितामा छलफल गरिएको हो ।
सामी कार्यक्रमको मुख्य साझेदार स्थानीय तह भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा आयोजित छलफलमा सामी कार्यक्रमका सहजकर्ताहरूले झापामा वैदेशिक रोजगारीमा जानेहरूको अवस्था, जान चाहनेहरूको मनोविज्ञान र वैदेशिक रोजगारीबाट फर्किएकाहरूको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।
भद्रपुर नगरपालिका रोजगार संयोजक टिकाराम पाण्डेले सञ्चालन र भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले स्वागत गरेको अन्तरक्रियात्मक छलफलमा सामी कार्यक्रम तथा हेल्भेटास नेपालकी कोशीरमधेस प्रदेश व्यवस्थापक कोपिला दाहालले वैदेशिक रोजगारीको वर्तमान अवस्था, चौथो चरणको सामी कार्यक्रमको मोडालिटी र आगामी रणनीति बारे प्रस्तुति दिएकी थिइन् भने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले वैदेशिक रोजगारसम्बन्धी संवैधानिक तथा कानुनी प्रावधान एवम् वैदेशिक रोजगार ऐन र प्रमुख जिल्ला अधिकारीहरूको भूमिकाका बारे स्पष्ट पारेका थिए ।
त्यसैगरी, कोशी प्रदेश, सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत प्रदीप गौतमले प्रदेशमा वैदेशिक रोजगारको अवस्था, स्थानीय परिस्थिति र प्रदेश सरकारले गरिरहेका प्रयासका बारे प्रस्तुति दिएका थिए भने सामी कार्यक्रम झापाका संयोजक शेखर बुढाथोकीले सामी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका आप्रवासी स्रोत केन्द्रबाट प्रवाह भइरहेका सेवाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई, कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापालगायतले वैदेशिक रोजगारमा जाने युवा जनशक्तिको सङ्ख्या बढ्दो क्रममा रहेको बताउँदै ऊर्जाशील युवा शक्तिलाई देशमै टिकाइरहन सक्नेगरिका कार्यक्रम र योजनामा सरकारका सबै निकाय लाग्नुपर्नेमा जोड दिए ।