२०८१ चैत ८, शुक्रवार , ०६:२८:३५ बजे

Sajhamanch
'

बीपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिँदै

बिहिवार, चैत ७, २०८१

काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ ।

दुई सडक खण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरिसेकका छन् । बाढीपहिरोबाट क्षतिग्रस्त भएको पाँच महिनापछि राजमार्ग पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो ।

गएको असोजमा रोशी खोलामा आएको बाढीले रोशीदेखि नेपालथोकसम्मको करिब १३ किलोमिटर सडकमध्ये साढे आठ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । त्यसरी क्षतिग्रस्त सडक खण्डको पुनःनिर्माण गर्न चार प्याकेजमा काम गर्ने तयारी छ ।

क्षतिग्रस्त सडक खण्डमध्ये सिन्धुलीतर्फ भने पहिलो प्याकेजका रूपमा गत फागुन २८ गते ‘टेन्डर’ आह्वान गरिएको थियो । यसमा नेपालथोकदेखि वर्षेखोलासम्मको सडकखण्ड पर्नेछ । बाँकी क्षतिग्रस्त तीन प्याकेज सडक खण्ड भने काभ्रेपलाञ्चोकमा पर्नेछ ।

काभ्रेपलाञ्चोतर्फको क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि हिजो पहिलो टेन्डर आह्वान गरिएको हो । काभ्रेपलाञ्चोकतर्फको बाँकी दुई टेन्डर पनि सडक डिभिजन कार्यालय भक्तपुरले क्रमशः आह्वान गर्ने जनाएको छ । प्राविधिक र आर्थिक मूल्याङ्कन सकिएपछि करिब दुई महिनामा ठेक्का सम्झौता हुनेछ ।

बीपी राजमार्गअन्तर्गत क्षतिग्रस्त सडक स्थायी रूपमा निर्माण हुनुअघि आउँदो वर्षायाममा सडकमा नियमित यातायात सञ्चालनका लागि अस्थायी मर्मतको काम भइरहेको छ ।

डिभिजन कार्यालयले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतकार्यलाई तीव्र पारिएको जनाएको छ ।

सम्बन्धित खबर