
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको १२ औं तहको दुई अतिरिक्त सचिवका लागि आवेदन माग गरिएको छ ।
बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै १५ दिनभित्र मन्त्रालयको कर्मचारी प्रशासन शाखामा विवरण दर्ता गर्न भनेको छ ।
बढुवा समितिले २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पूरा भएका एघारौं तहका अधिकृत कर्मचारीहरुलाई बढुवा सम्बन्धी व्यक्तिगत विवरण फारम मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई दर्ता गर्न भनेको छ ।
‘नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहको अतिरिक्त स्वास्थ्य सचिव रिक्त पद संख्या २ (दुई) मा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्नुपर्ने भएको हुँदा २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पुरा भएका एघारौं तहका अधिकृत कर्मचारीहरुले आवेदन दिन सक्नेछन्,’ सूचनामा भनिएको छ ।
मन्त्रालयमा स्वास्थ्य सचिव डा।रोशन पोखरेल र अतिरिक्त सचिव डा. दीपेन्द्र रमण सिंहले फागुन १२ मा अवकाश पाएका थिए ।
सचिवमा डा। विकास देवकोटाले जिम्मेवारी पाएपछि मन्त्रालयमा अहिले १२ औं तहको अतिरिक्त सचिवका दुई पद रिक्त छन् ।