
काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ मा सामुदायिक वनको डढेलो गाउँ पस्दा एक सामुदायिक विद्यालयसहित सात घर जलेका छन् ।
स्थानीय बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा छुम्पाङ, बाघखोर, च्यानटार, पाँचभैयाटार र लाङमाका सात घर जलेर नष्ट भएका प्रहरीले जनाएको छ । डढेलोले बालकन्या आधारभूत विद्यालयमा समेत क्षति पुगेको स्थानीयवासी घनश्याम राईले जानकारी दिए।
डढेलो गाउँ पसेपछि सुरक्षाकर्मी र स्थानीयवासी निभाउन खटिएका थिए । कक्षा–५ सम्म पढाइ हुने विद्यालयको काठबाट बनाइएको दुई कोठे भवन जलेको हो । डढेलो लागेको ठाउँ सुक्खाग्रस्त क्षेत्रमा पर्छ । दाम्लीको नबेल्खा जङ्गलमा लागेको डढेलो फैलिएको हो ।