
काठमाडौं । ‘हरियो वन नेपालको धन’ भनिँदै आए पनि वर्षेनि अर्बौँ रुपैयाको काठ विदेशबाट आयात हुने गरेको छ ।
अघिल्लो वर्ष पाँच अर्ब १२ करोड रुपैयाँ बराबरको काठ आयात भएकोमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्रै दुई अर्ब ४० करोड रुपैयाँ बराबरको काठ तथा काठजन्य सामग्री आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।
देशको कुल भूभागको ४६ प्रतिशत बनक्षेत्रले ओगटे पनि सरकारी नीति स्पष्ट नहुँदा स्वदेशमा काठ उत्पादन, व्यवस्थापन र कारोबारमा समस्या हुने गरेको छ । काठजन्य सामग्रीको माग उच्च भए पनि स्वदेशी उत्पादनले त्यसलाई पूरा गर्न सकेको अवस्था छैन ।
नेपालमा काठजन्य सामग्रीको प्रयोग निर्माण कार्य, फर्निचर उत्पादन र अन्य क्षेत्रमा उच्च मात्रामा हुने गरेको छ ।
नेपालमा वर्षेनि करिब ३ करोड घनफिट काठ उत्पादन हुने गरेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता शिव कुमार वाग्लेले बताए। काठ उद्योगहरुले काठका सामग्री बनाउँदा नेपाली काठको प्रयोग गर्नुपर्ने तर त्यसो नहुँदा विदेशी काठले बजार पाएको उनको भनाइ छ ।
वन मन्त्रालयमातहतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका अनुसार नेपालमा वर्षेनि वन क्षेत्र बढ्दै गएको छ ।
वन क्षेत्र बढेको अवस्थामा काठ उत्पादन पनि बढेर निर्यात बढ्नुपर्ने र आयात घट्नुपर्ने हो, तर काठको आयात घटेको छैन, उल्टै बढेको छ । सरकारले काठ आयातलाई कम गर्दै काठमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि त्यो कागजमै सीमित छ ।
नेपालमा लाइबेरिया, इन्डोनेसिया, मलेसिया, म्यानमार, लाओस, जर्मनी, सुरिनाम, अमेरिकालगायत देशबाट काठ तथा काठजन्य सामग्री आयात हुने गरेको छ ।