
बिर्तामोड । बिर्तामोडमा महिला मेयर भएका कारण प्राप्त भएको सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरु सम्पन्न भएका छन् ।
वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्गमा आज कालोपत्रे गर्ने कार्य सम्पन्न भएसंगै ७ वटा योजनाहरु पूरा भएका हुन् ।
सघन सहरी विकास कार्यक्रम अन्तर्गत बिर्तामोडमा ६ वटा सडकको स्तरोनन्ति र एउटा सामुदायिक भवन निर्माण गरिएको हो ।
स्तरोनन्ति गरिएका सडकहरुमा वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग (१२४० मिटर) र अतिथि सदन रोड (९२५ मिटर), वडा नम्बर २ को बानालाल मार्ग (१ किलोमिटर), वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय जाने सडक (१२४० मिटर), वडा नम्बर ८ को गरामनी– कटहरडाँगी हुँदै हल्दीबारी जोड्ने सडक (१२४० मिटर) र बुट्टाबारी एभरेष्ट स्कूल हुँदै हरिहर आश्रम सडक (१२४० मिटर) रहेका छन् ।
सघन सहरी विकास कार्यक्रम अन्तर्गत करिब ७ किलोमिटर सडक कालोपत्रे गरिएसंगै वडा नम्बर ६ मा रहेको हरियाली सामुदायिक वनमा एउटा सामुदायिक भवन पनि निर्माण गरिएको छ ।
सबै योजनाको नगरप्रमुख पवित्रा महतारा प्रसाईले गत भदौ २० गते एकमुष्ठ शिलान्यास गरेकी थिइन् ।
शान्ति उद्देश्य निर्माण सेवाले भ्याट बाहेक ६ करोड ३१ लाख रुपैयाँमा ठेक्का लिएर ती सबै काम सम्पन्न गरेको नगरपालिका कार्यालयले जनाएको छ ।
कार्यबाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले केही सडकहरुमा ड्रेनको समस्या कायमै रहेकोले आगामी वर्षका योजनाहरुमा समेट्ने बताएका छन् ।
नगरका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले वडा नम्बर १ मा रहेको धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग २०१५ साल भन्दा पहिलेदेखि चलेको बाटोमा यस वर्ष कालोपत्रे गर्न सफल भएको भन्दै खुशी व्यक्त गरेका छन् उनले चालू योजनामा समेटिएका सबै कालोपत्रेका कामहरु गुणस्तरीय रहेको पनि बताए ।
ठेकेदार नयन बरालले योजना सञ्चालनको समयमा जनप्रतिनिधिले राम्रो साथ दिएकै कारण योजना समयमा नै सम्पन्न गर्न सकिएको बताए ।