
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ६३ अङ्कले घटेर २ हजार ७१४ दशमलव ८५ विन्दुमा झरेको छ ।
आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरै ओरालो लागेको छ । यस्तै लगानी, अन्य समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज ग्रीन विकास बैंक र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर ७ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन सामुदायिक लघुवित्त कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन गएको बुधवार ८ अर्ब २३ करोडको कारोबार भएकोमा आज ३१६ वटा कम्पनीका १ करोड ३९ लाख कित्ता शेयर ६ अर्ब ८३ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।