२०८१ चैत ३, आइतवार , ०१:४३:३१ बजे

Sajhamanch
'

बाल सुधारगृहलाई सुरक्षित बनाउन सांसदहरुको माग

आइतवार, चैत ३, २०८१

काठमाडौं । सांसदहरुले बाँकेको जयन्दु बाल सुधारगृहमा शनिबार भएको तनावबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

बाल सुधारगृहमा साना-ठूला उमेर समूहकालाई एकै ठाउँ राखिएकाले पनि बेला बेला तनाव हुने गरेको भन्दै सांसहरुले सुरक्षित र व्यवस्थित बनाउन माग गरे ।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद रोशन कार्कीले सरकारले बाल सुधारगृह बनाउन खोजेको हो कि ‘बाल बिगार केन्द्र’ ? भनेर प्रश्न गरिन् ।

महिला तथा सामाजिक मामिला समितिले महिला मन्त्रालय र सम्बन्धित पदाधिकारीलाई बोलाएर निर्देशन दिएको छ । तर सरकारले कुनै पनि प्रकारको ध्यान दिएको छैन ।

देशका विभिन्न ठाउँका बाल सुधार गृहको अवलोकन गर्दा त्यहाँ न्यूनतम मापदण्ड पालना नभएको, लागुपदार्थ सेवन हुने गरेको र खाना पनि राम्रो नहुने गरेको भन्दै उक्त समस्या समाधान हुनुपर्ने बताइन् ।

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले जेलका कैदीबन्दी बिरामी भए हुनुको कारणबारे सरकारले जानकारी दिनुपर्ने बताए । ‘२९ हजार ५०० कैदीबन्दीमध्ये १८ हजार ५०० बिरामी भएको सूचना सार्वजनिक भएको छ । के भएको हो, किन यस्तो भएको हो सदनमा सम्बन्धित निकायले प्रष्ट पार्न माग गर्दछु ,’ उनले भने ।

सांसद दीपा शर्माले बाल सुधारगृहमा १० वर्षदेखि ३० वर्षसम्मका बालबालिकालाई एकै ठाउँमा राखिएकाले झगडा र तनाव हुने गरेको बताइन् । त्यसैले उनीहरुलाई छुट्टाछुट्टै राख्ने व्यवस्थाका लागि उनले माग गरिन् ।

अर्की सांसद शान्ति श्रेष्ठले पनि बाल सुधार गृहलाई व्यवस्थित र शान्तिसुव्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

शुक्रबार होलीको विषयमा दुईपक्षबीच भएको झडपले बाँकेको डुडुवास्थित जयन्दु बाल सुधारगृहमा शनिबार दिनभर तनाव भएको थियो । त्यहाँको गेट तोडेर निस्किएका बालबन्दीहरुले प्रहरीमाथि कुटपिट, पसलमा लुटपाट र स्थानीयको परालको टौवामा आगजनी गरेका थिए ।

सम्बन्धित खबर