२०८१ चैत ३, आइतवार , ०७:५६:०२ बजे

Sajhamanch
'

यमनमा हुथीविरुद्ध अमेरिकाको एयरस्ट्राइक, ९ जनाको मृत्यु

आइतवार, चैत ३, २०८१

काठमाडौं । अमेरिकाले यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ ।

हुथी विद्रोहीले लाल सागर क्षेत्रको बन्दरगाहमा आक्रमण गरेपछि त्यसको बदलास्वरुप अमेरिकाले एयर स्ट्राइक गरेको हो ।हुथी विद्रोहीहरुले सन् २०२३ को नोभेम्बरदेखि शिपिङलाई लक्षित गरी १०० बढी हमला गरेका छन् । हालै हुथी विद्रोहीहरुले आक्रमण गरी दुईवटा जहाज समुद्रमा डुबाइदिएका थिए भने एउटालाई कब्जा गरेका थिए । करिब चार जनाको मृत्यु भएको थियो । हुथीको आक्रमणबाट ढुवानी कम्पनीहरुलाई दक्षिण अफ्रिकाको आसपास हुँदै लामो र महँगो यात्रा गर्नुपरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै हुथी र उसको मुख्य समर्थक इरानलाई आक्रमण नरोके गम्भीर क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका थिए ।त्यसपछि शनिबार अमेरिकी सेनाले यमनको सना क्षेत्रमा हवाई आक्रमण गरेको हो । हुथीले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिकाको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ भने थप नौ जना घाइते भएका छन् ।

युएस सेन्ट्रल कमाण्डले सोसल मिडियामा लेखेको छ ‘अमेरिकी हितको रक्षा गर्न, दुश्मनलाई रोक्न र जहाजलाई स्वतन्त्रपूर्वक ढुवानीको वातावरण मिलाउन यमनमा इरान समर्थित हुथीको अखाडामा सटिक हमला सहित सैन्य अपरेसन सुरु गरिएको छ ।’सामाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी सेनाले यमनको सनास्थित हुथी विद्रोही बसेको एक भवनमा आक्रमण गरेको थियो । स्थानीय अब्दुल्ला याहियाले आक्रमण डरलाग्दो भएको बताएका छन् । ठूलो विष्फोटको आवाज आएको र भूकम्प आएजसरी जमिन हल्लिएको उनको भनाइ छ ।

सम्बन्धित खबर