२०८१ फागुन २९, बिहिवार , ०६:५०:३१ बजे

Sajhamanch
'

मच्छिन्द्र र चर्च व्वाइजको रोमाञ्चक खेल : अपत्यारिलो परिणाम

बिहिवार, फागुन २९, २०८१

मेचीनगर । लिगलिडर चर्च व्वाइज युनाइटेडले हाफटाइमसम्म ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय गरेको हो ।

हाफ टाइमसम्म शून्यका विरुद्ध ३ गोल गरेर खुसी भएको मच्छिन्द्रले हाफ टाइमपछि उल्टो ४ गोल खाएर अपत्यारिलो परिणाम भोग्दै खेलबाट बाहिरिनु परेको छ । चर्च व्वाइजले शनिवार हुने फाइनल खेलमा आयोजक काँकरभट्टिा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ ।

खेलको ३०औँ मिनेटमा मच्छिन्द्रले अग्रता लियो । पेनाल्टी एरियामा क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी युसुफ मलिकले गोल गरेका हुन् । ४३औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो । आदित्य शाक्यको क्रस पासमा एन्द्रेस नियाले गोल गरे । त्यसको १ मिनेट बित्न नपाउँदै युसुफ मलिकले मछिन्द्रका लागि अर्को गोल थपे । मैदानको मध्य भागबाट अगाडि बडाएको बललाई उनले सुन्दर गोल गरे पनि मच्छिन्द्रको जितका लागि यो गोल पर्याप्त बन्न सकेन ।

खेलको पहिलो हाफसम्म शून्यको नतिजा रहेको चर्च व्वाइजका लागि खेलको ६१औँ मिनेट विदेशी खेलाडी अबयोमी फकुन्लेले पहिलो गोल फर्काए । मच्छिन्द्रका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई उनले एकल प्रयासमा गोल गरे ।

खेलको ६९औँ मिनेटमा फकुन्लेले व्यक्तिगत दोस्रो गोल गरे । मच्छिन्द्रका डिफेन्सको तालमेल नमिल्दा दोस्रो बार च्यापेर उनले गरेको सटिक प्रहार गोलमा परिणत भएको थियो ।

खेलको ७८औँ मिनेटमा रिचार्ड विल्सनले गोल गर्दै स्कोर ३–३ को बराबरी गरे । विदेशी खेलाडी फकुन्लेको क्रस पासमा मच्छिन्द्रका दुईजना डिफेन्डरलाई विट गर्दै गोल गरेका थिए ।

खेलको ८७औँ मिनेटमा फकुन्लेले ह्याट्रिक पूरा गरे । मच्छिन्द्रका डिफेन्डर अघि बढेको मौकाको फाइदा लिँदै उनले प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे भने आफ्नो टिमलाई फाइनलको यात्रासमेत तय गराए ।

खेलको प्लेयर अफ द म्याच ह्याट्रिक गरेका खेलाडी अबयोमी फकुन्ले भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताभरिका लागि प्लेयर अफ द म्याचको पुरस्कार व्यवसायी श्याम प्रसाई (एसपी)ले उपलब्ध गराएका हुन् ।

शनिवार हुने फाइनल खेलको विजेताले १० लाख रुपैयाँ पुरस्कार, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार, ट्रफी र मेडलमा चित्त बुझाउनु पर्नेछ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले २५ हजार र ट्रफी पाउने छन् । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले ११ हजार र ट्रफी पाउने छन् ।

सम्बन्धित खबर