२०८१ फागुन २५, आइतवार , ०८:५६:२९ बजे

Sajhamanch
'

हात्तीबाट मान्छे बचाउन बाली बीमाको विकल्प छैन : नगरप्रमुख बुढाथोकी

आइतवार, फागुन २५, २०८१

मेचीनगर । हात्ती पीडित क्षेत्रका जनताको सुरक्षा र जीवनस्तर सुधार्न बाली बीमाको विकल्प नभएको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बताएका छन् ।

आज संघीय वन तथा वातावरण मन्त्रालय, युएनडीपी तथा उज्यालो नेपाल बर्दियाको सहयोगमा कृषि बीमा सम्बन्धी एक दिवसीय कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

‘हात्तीको आक्रमणबाट जनधनको क्षति रोक्न बाली बीमा आवश्यक छ’ नगरप्रमुख बुढाथोकीले भने– ‘हात्ती आएको बेला घरबाट बाहिर निस्कन नपरे वन्य जन्तुबाट हुने क्षति कम हुन्थ्यो ।’

उनका अनुसार हात्ती आउजाउ गर्दाभन्दा बालीनाली खायो भनेर खेदाउँदा बढी क्षति भएको छ । हात्तीले किसानको बालीमा धेरै क्षति पुर्याएको छ । उचित क्षतिपूर्ति दिनु पर्छ ।

उनले भने– ‘नागरिक जैविक विविधता संरक्षण होइन नष्ट गर्न लागिरहेका छन् । भौतिक पूर्वाधारको विकासमा वातावरणको प्रभाव र प्रदुषणको ख्याल गरेको पाइँदैन ।’

सो कार्यक्रममा वन तथा वातावरण मन्त्रालय अन्तरगतको जैविक विविधता शाखाका अधिकृत ज्ञानेन्द्र कायास्थ, युएनडीपी र बायोफीनका कार्यक्रम संयोजक डा. विजेन्द्र बस्नेत, उज्यालो नेपालका बीमा विज्ञ घुरन ठकुरी, उज्यालो नेपालका जैविक विविधता विज्ञ प्रकाशकुमार पौडेल लगायतले कृषि बीमा र जैविक विविधता संरक्षण सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर–५ का वडाध्यक्ष कनक कार्की, कार्यपालिका सदस्य तीलजा देवान, बाहुनडाँगीका राजनीतिक दलका प्रमुखहरु, किसान, सञ्चारकर्मी र समाजसेवीहरुको उपस्थिति थियो ।

कार्यक्रमको सहजीकरण मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले गरेका थिए ।