२०८१ फागुन २५, आइतवार , ०८:४५:५१ बजे

Sajhamanch
'

मेचीनगर गोल्डकप चर्च व्वाइज युनाइटेडसँग झापा एफसी पराजित

आइतवार, फागुन २५, २०८१

मेचीनगर । नेपाल सुपर लिग (एनएसल)को तयारीमा रहेको झापा एफसी लिग लिडर चर्च व्वाइज युनाइटेडसँग पराजित भएको छ । काँकरभिट्टामा भइरहेको पाँचौ मेचीनगर गोल्डकपको आज सम्पन्न खेलमा चर्च व्वाइज विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरीमा सकिए पछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ को बराबरी गोल भएपछि सडनडेथ मार्फत खेलको निर्णय भएको थियो ।

सडनडेथमा चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापाले गोल गर्न सफल भए भने झापाका धिरज विष्टको प्रहार गोलरक्षक थापाले बचाउ गरेका थिए ।

खेलको ६९औँ मिनेटमा चर्च व्वाइजका लागि विदेशी खेलाडी रिचार्डले गोल गर्दै अग्रता दिलाएका थिए । अबयोमि फकुन्लेले पेनाल्टी एरियामा दिएको पासमा झापाका २ जना डिफेन्डरलाई बिट गर्दै उनले सुन्दर गोल गरेका थिए ।

खेलको ९०औँ मिनेटमा झापाका कप्तान श्याम मुर्मुले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । चर्च व्वाइजका डिफेन्डरबाट रिबाउन्स भएको बललाई मुर्मुले वान टचमा गोल गर्न सफल भएका थिए ।

खेलको प्लेयर अफ द म्याच चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापा भए । उनले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सोमबारको खेल धरान एफसी र उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीबीच हुनेछ ।