२०८१ फागुन २५, आइतवार , ०८:२५:२८ बजे

Sajhamanch
'

झापामा ‘राष्ट्र निर्माणमा रिटर्निको भूमिका, विदेशदेखि स्वदेशसम्म’ विषयक अन्तरक्रिया

आइतवार, फागुन २५, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले रिटर्निहरुले सामाजिक, आर्थिक, राजनीतिक समस्या भोग्न बाध्य हुनुपरेको बताएका छन् ।

नेपाली कांग्रेस पूर्व आप्रबासी समन्वय विभाग केन्द्रीय समितिको आयोजना र कोशी प्रदेश समितिको संयोजनमा आयोजित ‘राष्ट्र निर्माणमा रिटर्निको भूमिका, विदेशदेखि स्वदेशसम्म’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

लामो समय विदेशमा बिताएर स्वदेश फर्कंदा आफू आबद्ध राजनीतिक दलमा पूर्ववत अवस्थामा फर्कन समस्या हुने, सामाजिक रुपमा घुलमिल हुनै समय लाग्ने, पारिवारिक बेमेल उत्पन्न हुने एवं आर्थिक समस्यासमेत झेल्नुपरेको सहभागीले बताएका हुन् ।

रोजगारी वा अध्ययनका लागि लामो समय विदेश बसेर फर्किएकाहरुको सीप, क्षमता, प्राविधिक ज्ञान एवं लगानीलाई राष्ट्र निर्माणमा लगाउन सरकारले लगानीमैत्री वातावरण बनाएर प्रोत्साहित गर्न नसकेको उनीहरुको गुनासो छ ।

अवसरको खोजी वा घरको आवश्यकता टार्नकै लागि पनि युवा उमेरमा विदेशिनु स्वभाविक रहेको चर्चा गर्दै उनीहरुले विदेशमा रहेका दक्ष जनशक्तिलाई स्वदेश फर्किएर उत्पादनमूलक कार्यमा लगानीको वातावरण बनाउन आग्रहसमेत गरेका छन् ।

लगानीको वातावरण बने उत्पादन बढ्ने, आयात प्रतिस्थापन हुने र रोजगारी सिर्जना हुने उनीहरुको भनाई छ ।

विभागको आयोजनामा हालसम्म देशका पाँचवटा प्रदेशमा कार्यक्रम सम्पन्न भएको बताउँदै विभागका केन्द्रीय संयोजक एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले युरोपियन मुलुक, भारत र ‘गल्फ कन्ट्रीबाट फर्किएका रिटर्निहरुको समस्या बेग्लाबेग्लै रहेको बताए ।

युरोपबाट फर्किएकाहरुको आर्थिक स्थिति राम्रो देखिने तर नेपालमा लगानीको वातावरण नहुँदा युरोपियन मुलुकको नागरिकता त्याग्न तयार नदेखिने गरेको बताउँदै कोइरालाले भारत एवं गल्फ कन्ट्रीबाट फर्किएका धेरैजसो पूर्व आप्रबासीले आर्थिक समस्या झेल्नु परिरहेको समस्या सुझावका रुपमा आएको अवगत गराए ।

जुनसुकै मुलुकबाट फर्किए पनि उनीहरुको सीप र क्षमतालाई उपयोग गर्नेगरी लगानीको वातावरण बनाउनसके देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने कोइरालाको भनाइ छ ।

सम्बन्धित खबर