२०८१ फागुन २५, आइतवार , ११:५५:०७ बजे

Sajhamanch
'

झापामा १५औँ राष्ट्रपति रनिङ शिल्ड : एथ्लेटिक्समा अर्जुनधारा अगाडि

आइतवार, फागुन २५, २०८१

भद्रपुर । झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि सुरु झापा जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जारी छ ।

भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेलहरु सकिँदा एथ्लेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथ्लेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ वटा पदकसहित अग्रस्थानमा रहेको एथ्लेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए ।

प्रतियोगितामा एथ्लेटिक्स विधा अन्तर्गत दौड, सटपुट, ज्याभलिन, लङजम्प र ट्रिपल जम्पका खेल समावेश छन् । एथ्लेटिक्स तर्फ मेचीनगर नगरपालिका र दमक नगरपालिकाले समान सात पदक प्राप्त गरेका छन् भने कमल गाउँपालिकाले ६ वटा पदक हासिल गरेको छ ।

त्यस्तै, शिवसताक्षीले ५, बिर्तामोड र बाह्रदशीले समान ४–४, भद्रपुर र कनकाईले समान ३–३ तथा कचनकवल, गौरीगञ्ज, हल्दिबारी र झापा गाउँपलिकाले समान २–२ पदक जितेका छन् । गौरादह नगरपालिका र बुद्धशान्ति गाउँपालिका एथ्लेटिक्समा पदकविहीन छन् । अब एथ्लेटिक्सको थोरै खेल मात्र बाँकी रहेको यादवले जानकारी दिए ।

प्रतियोगितामा भलिबल (छात्र÷छात्रा), कबड्डी (छात्र÷छात्रा), कराते (छात्र÷छात्रा), तेक्वान्दो (छात्र÷छात्रा) र उसु (छात्र÷छात्रा)–का खेलहरु पनि सञ्चालन भइरहेको झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिनुभयो ।

प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहको सहभागिता रहेको छ । प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने र सबै विधाको अन्तिम नतिजा आइतबार नै सार्वजनिक हुने झापा जिल्ला खेलकुद विकास समितिका प्रवक्ता जगन कार्की ‘दुर्वासा’ले जानकारी दिए ।

सम्बन्धित खबर