
झापा । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रहेका विरामीहरुलाई फलफूल लगायत पौष्टिक सामग्री वितरण गर्दै अखिल नेपाल महिला संघ झापाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।
अस्पतालमा उपचारत बिरामीहरुलाई पौष्टिक खाद्य पदार्थ वितरण गरेर ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो ।
अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, जिल्ला अध्यक्ष लीला दाहाल लगायत जिल्लाका पदाधिकारीहरुले अस्पतालमा रहेका ८२ जना बिरामीलाई फलफूल, हर्लिक्स लगायत पोषणयुक्त खानेकुरा वितरण गरिएको अनेम संघ जिल्ला सचिव कोपिला चम्लागाईले जानकारी दिइन् ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष काफ्लेले नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन १९११ मार्च ८ मा महिला कामदार माथि भएको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन रहेको बताइन् ।
उनले नारी दिवसका दिन विशेष महिला दिदीबहिनीहरुले रचनात्मक काम गरेर मनाउने गरिएको बताइन् । त्यसै क्रममा प्रादेशिक अस्पतालमा उपचार गराई रहेका सबै बिरामीहरुलाई उनीहरुको स्वास्थ्य अवस्था बुझ्दै पौष्टिकयुक्त खाद्य पदार्थ वितरण गरिेएको उनले बताइन् ।
यस्तो रचनात्मक सोचेर अनेम संघ जिल्ला कमिटीले प्रंशसनीय काम गरेको उपाध्यक्ष काफ्लेको भनाई थियो ।
त्यसैगरी अनेम संघ जिल्ला कमिटी झापाले मेचीनगरको भृकुटीका ५ जना श्रमिक महिलालाई हटकेश लगायत सामग्री प्रदान गरेको छ ।
अनेम संघले विभिन्न विधामा श्रमिकका रुपमा काम गर्ने महिला दिदी बहिनीहरुलाई काममा जाँदा खाजा वा खाना बोक्नका लागि सहज होस भन्ने उद्देश्यले हटकेश प्रदान गरेको जनाएको छ ।
भृकुटीमा आयोजना गरिएको कार्यक्रममा १५ जना युवा महिलाहरु बीच बक्तृत्वकला समेत गराइएको अनेम संघ सचिव चम्लागाईले जानकारी दिइन् ।
कार्यक्रममा अनेम संघ जिल्ला अध्यक्ष लीला दाहाल, अनेम संघ प्रदेश सचिव हेमला कट्टेल , निवर्तमान अध्यक्ष पवित्रा पाठक, नेकपा एमाले केन्द्रीय सदस्य मिना पोखरेल उप्रेती, प्रदेश कमिटी सदस्य बसन्त बानियाँ, घनश्याम अधिकारी, जिल्ला कमिटी उपसचिव असारु राजवंशी, पार्टी सल्लाहकार सदस्य विष्णु प्रसाई, भद्रपुर अस्पतालका मेसु डा. रामबाबु खड्का, एमाले नेता शिवकुमार राजभण्डारी लगायतको उपस्थितिमा उक्त दुवै कार्य सम्पन्न गरिएका हुन् ।
कार्यक्रमको सञ्चालन अनेम संघ जिल्ला कमिटी सचिव कोपिला चम्लागाईले गरेकी थिइन् । कार्यक्रममा ५ सय बढी महिलाको सहभागिता थियो ।