
मेचीनगर । झापाको मेचीनगरमा आजदेखि पाँचौं मेचीनगर गोल्डकप सञ्चालन हुँदैछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबीच हुनेछ ।
काँकरभिट्टा खेल मैदान दिउँसो २ः३० बजेबाट हुने प्रतियोगितामा दुवै टिम जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्ने दाउमा हुनेछन् । होम ग्राउण्ड र स्थानीय समर्थकको बलमा आयोजक उच्च मनोबलका साथ मैदान उत्रिँदै पाहुना टोलीलाई पाखा लगाउने रणनीतिका दाउमा छ । यता पाहुना टोली भारतको जर्जियन एफसी आयोजकलाई पराजित गर्दै अन्तिम चारमा पुग्ने दाउमा रहने छ ।
दर्शकको ब्यग्र प्रतीक्षा र लामो समयपछि सञ्चालन भएको पाँचौं संस्करण मेचीनगर गोल्डकपको उद्घाटन खेल अत्यन्तै रोमाञ्चक हुनेमा आयोजक आशावादी रहेको गोल्डकपक मूल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनाली बताउँछन् ।
प्रवेश शुल्क १०० राखिएको छ । आज नारी दिवसको अवसरमा गोल्डकप हेर्न आउने सम्पूर्ण महिलाहरूलाई प्रवेश निःशुल्क गरिएको उनले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यमा तथा मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको बिशेष आतिथ्यमा रहने सञ्चालन हुने सहसंयोजक विमल आचार्यले जानकारी दिए ।
आयोजकले टिम व्यवस्थापनदेखि खेल हेर्न आउने दर्शकहरूका लागि बाँसको अस्थायी प्यारापिटको उचित व्यवस्थापन गरेको छ ।
सचिव राजु कार्कीका अनुसार अब खेलाडीले खेल खेल्ने र दर्शकले हेर्ने कार्य मात्रै बाँकी रहेको हुँदा सम्पूर्ण खेलप्रेमी दर्शकलाई खेल मैदानमा उपस्थित भएर प्रतियोगिताको अवलोकन गर्न अनुरोध गरे ।
चैत २ गते हुने फाइनल खेलको विजेताले १० लाख रुपैयाँ पुरस्कार, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार, ट्रफी र मेडल प्राप्त गर्ने छ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार रुपैयाँ र ट्रफी पाउँदा उच्च गोलकर्ताले २५ हजार रुपैयाँ र ट्रफी पाउने छन् ।
उत्कृष्ट प्रशिक्षक र गोलकिपरले २१ हजार रुपैयाँ र ट्रफी तथा उदीयमान खेलाडीले ११ हजार रुपैयाँ र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले ११ हजार रुपैयाँ र ट्रफी पाउने छन् ।
गोल्डकप सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ ।