
काठमाडौं । प्रेस चौतारी नेपालले संगठनको १०औँ राष्ट्रिय महाधिवेशनको लोगो आज सार्वजनिक गरेको छ ।
संगठनका अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले उक्त लोगो बिहीबार संगठनको केन्द्रीय कार्यालयमा सार्वजनिक गरेका हुन् ।
प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय महाधिवेशन कोशी प्रदेशको राजधानी विराटनगरमा चैत १० देखि १२ गतेसम्म हुँदैछ । महाधिवेशनको समुद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रम तय भएको छ । १०औं महाधिवेशनको नारा ‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’ राखिएको छ ।
लोगोमा नेपालको गौरव र गरिमा विश्वको सर्वोच्च शिखर सगरमाथालाई समेटिएको छ । त्यस्तै इलाम श्रीअन्तुको सूर्योदयको दृश्य, नेपालको सबैभन्दा होचो भाग झापाको कचनकवल, कोशी टप्पु वन्यजन्तु आरक्ष, भोजपुर, खोटाङ र सोलुखुम्बुको बीचमा पर्ने संस्कृति र सभ्यताको केन्द्र मुन्धुम ट्रेल, प्रकृति अनि इतिहासको केन्द्र कञ्चनजङ्घा, (ताप्लेजुङ), मकालु (सङ्खुवासभा) भेडेटार–हिले (धनकुटा), धरान, विराटनगर लगायतका क्षेत्रलाई पनि लोगोमा समेटिएको छ ।
सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे), चिया बगान लगायतलाई लोगोमा समेटिएको छ ।
लोगो सार्वजनिक गर्दै संगठनका अध्यक्ष गणेश बस्नेतले लोगोमा कोशी प्रदेशको पहिचानलाई समेट्ने प्रयत्न गरिएको बताए । लोगोमा पत्रकारको कलमदेखि क्यामरासम्म समेटिएको उनले स्पष्ट पारेका थिए । ‘हाम्रो यात्रा उज्यालो तर्फ छ, अब उज्यालोको यात्रा लिएर समृद्ध नेपाल, सुखी नेपालीको आकांङ्क्षा लिएर अघि बढ्नु पर्छ भनेर हामीले त्यही अनुसारको लोगो बनाएका छौँ’ उनले भनेका छन् ।
अबको यात्रा आत्मनिर्भर अर्थतन्त्र निर्माणको हुनुपर्छ भन्ने कुरामा प्रेस चौतारी नेपाल स्पष्ट भएको अध्यक्ष बस्नेतको भनाई छ । अबको यात्रा यथास्थितिबाट अघि बढ्ने यात्रा भएको उनले बताए । समुन्नत नेपाल निर्माणमा अघि बढ्न पनि बस्नेतले सबैमा आह्वान गरेका छन् ।