
काठमाण्डौ – आईसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा हिजो दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।आउँदो आइतवार हुने फाइनल खेलमा न्युजिल्यान्ड र भारत खेल्ने भएका छन् । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो ।
समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट अघि बढ्न सकेन । ३ सय ६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १२ रन मात्र बनायो ।
दक्षिण अफ्रिकाका डेविड मिलरले नटआउट १ सय रन बनाए । रस्सिभानडर दुसेन ६९ र कप्तान तेम्बा बावुमाले ५६ रन जोडे ।न्युजिल्याण्डका लागि कप्तान मिचेल सान्टनरले ३, म्याट हेनरीले २, रचिन रविन्द्र र माइकल ब्रेसवेलले समान १ विकेट लिए ।त्यसअघि पाकिस्तानको लाहोरमा रहेको गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६२ रन बनाएको थियो ।
उसका लागि रचिन रविन्द्रले सर्वाधिक १ सय ८ रन बनाए । केन विलियमसनले १ सय २ रन जोडे । दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ३ विकेट र कागिसो राबडाले २ विकेट लिए । न्युजिल्यान्ड फाइनलको लागि दुबई जानेछ ।