२०८१ फागुन २२, बिहिवार , ०७:३२:५३ बजे

Sajhamanch
'

सतासी सहकारी २८औं वार्षिकोत्सवमा सान्दाइसहित कर्मचारी, बचतकर्ता सम्मानित

बुधवार, फागुन २१, २०८१

झापा । झापाको बिर्तामोडस्थित सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज आफ्नो २८औं वार्षिक उत्सव मनाएको छ।

२०५३ साल फागुन २१ गते दर्ता गरिएको सतासी बहुउद्देश्यीय सहकारी संस्थाले आज २९औँ वर्ष प्रवेश गरेको दिन २९ वटा दप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो। यस्तै स्थापना दिवस कै अवसर पारेर संस्थाले केक काटेर पनि वार्षिक उत्सव मनाएको छ।

पुरानो भद्रपुररोडस्थित सतासी डिपार्टमेन्टको प्राङ्गणमा संस्थाले उत्कृष्ट बचतकर्ता, ऋणी सदस्य, कर्मचारी एवं सामाजिक व्यक्तित्वलाई सम्मान गर्दै वार्षिक उत्सव मनाएको हो ।

संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा वार्षिक उत्सव आयोजना गरिएको थियो।

वार्षिक उत्सवका अवसरमा संस्थाले साहित्यिक एवं पत्रकारिता क्षेत्रका अग्रज व्यक्तित्व शिरो सान्दाई खतिवडालाई उत्कृष्ट व्यक्तित्व सम्मानका रूपमा नगद ५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको छ।

सतासीले आर्थिक वर्ष २०८०/८१ को कामको मूल्याङ्कन गरी उत्कृष्ट वित्तीय कर्मचारीका रुपमा बिर्तामोड सेवा केन्द्रकी कर्जा सहायक इराधा अधिकारी, अर्जुनधारा सेवा केन्द्रकी बजार प्रतिनिधि पिंकी राजवंशी र बिर्तामोड पसलकी सेल्स गर्ल जितकुमारी सुनुवार मुखियालाई जनही ५ हजार रुपैयाँसहित पुरस्कृत गरेको छ ।

वार्षिकोत्सवको अवसरमा संस्थाले मेचीनगरस्थित हिमालयन बाल क्लबलाई ५ हजार रुपैयाँ, बक्सिङ खेलका प्रशिक्षक गरामनी निवासी रिंकु हस्दालाई ५ हजार रुपैयाँ र शनिश्चरे फुटबल क्लबलाई ५ हजार रुपैयाँ आर्थिक सहयोग पनि हस्तान्तरण गरेको छ ।

यसैगरी संस्थामा निरन्तर वित्तीय कारोबार गरिरहेका १८ जना शेयर सदस्यहरूलाई वार्षिक उत्सवको अवसरमा सम्मान एवं पुरस्कारसहित मायाको चिनो प्रदान गरिएको छ। संस्थाले वित्तीय सेवा सञ्चालन गरिरहेका ६ वटा सेवा केन्द्रबाट बाल बचतकर्ता, उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋण कारोबारी सदस्य गरी ३/३ जनालाई सम्मानित एवं पुरस्कृत गरेको हो।

वार्षिक उत्सवको अवसरमा प्रमुख अतिथिको रूपबाट मन्तव्य राख्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख संग्रौलाले राज्यले विश्वास गरेर नै सहकारीलाई तीन खम्बे अर्थनीतिको एउटा खम्बा मानेको र समृद्ध नेपाल बनाउनका लागि एउटा मुख्य खम्बा रोजिएको बताए ।

सुरुसुरुमा सहकारी स्थापना गर्दा अत्यन्तै उल्लास लाग्ने गरेता पनि आज डरलाग्दो अवस्था बनेको उल्लेख गर्दै नगर उपप्रमुख संग्रौलाले गाउँँ गाउँमा सहकारी घरघरमा भकारी भन्ने नारा अब त सार्थक हुन छोडेको प्रतिक्रिया दिए ।

सहकारीमा जम्मा भएको रकम व्यवसायिक भवन निर्माण गर्न र जग्गा प्लानिङमा सञ्चालक र कर्मचारीहरूले चलाए पछि हिजोआज आर्थिक मन्दीका कारण त्यो कारोबार बन्द हुँदा सदस्यहरूले राखेको बचत धरापमा परेको उनको भनाइ छ।

नगरपालिकाको न्यायिक समितिले सहकारीका समस्याहरूलाई नजिकबाट नियालिरहेको प्रष्ट पार्दै कार्यक्रमका प्रमुख अतिथि संग्रौलाले बिर्तामोडका चार पाँचवटा सहकारी समस्यामा परेका छन्, निक्षेपकर्ताको बचत फिर्ता दिन सकिरहेका छैनन् । यो अवस्थालाई नियामक निकाय प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले समेत गम्भीरतापूर्वक लिनुपर्ने औंल्याए ।

वार्षिक उत्सव समारोहका विशिष्ट अतिथि कोशी प्रदेश सहकारी रजिस्ट्रार हरिबहादुर खत्रीले पछिल्लो समय ऋण नउठिरहेको कारण यसलाई प्रभावकारी बनाउन सहकारी सञ्चालकहरुले विशेष अभियान चलाउनुपर्ने सुझाव दिए ।

सहकारी उत्पादन, श्रम र उपभोगको सूत्रबाट चलेमा मात्र समृद्धि हासिल हुन्छ भन्दै सहकारी रजिस्ट्रार खत्रीले साँच्चैका सहकारीहरूमा संकट नआएको जिकिर पनि गरेका थिए। उनले सदस्य शिक्षाको माध्यमबाट सहकारीलाई बलियो बनाउन सकिने पनि सुझाव दिए ।

कार्यक्रमका अर्का वक्ता बचत तथा ऋण सहकारी सङ्घ कोशी प्रदेशका सचिव एकराज निरौलाले सहकारीमा संकट आएको नभएर ल्याइएको जिकिर गरे । उनले सहकारीको ब्यानरमा रकम अपचलन गरिरहेका पात्रहरूले नै संकटमा पारेका हुन्। तर राम्रो कारोबार गर्ने सहकारीहरू यसैको सिकार बनिरहनु परेको अवस्था औल्याए ।

निजी क्षेत्रले सहकारीलाई उँभो लाग्न दिइरहेको थिएनन्, अहिले त सहकारीमाथि आक्रमण भइरहेको बेला निजी क्षेत्रले पनि अवसर पाएर अझै यसको थिचोमिचो गरिरहेको सहकारी अभियन्ता निरौलाको भनाइ छ ।

सो अवसरमा सम्मानित एवं पुरस्कृतहरूको तर्फबाट शिरो सान्दाई खतिवडाले आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा आमन्त्रित अतिथि एवं सहभागीहरूलाई उपाध्यक्ष सुजता गुरुङ थापा मगरले शाब्दिक स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन प्रबन्धक झलेन्द्रप्रसाद दाहालले गरेका थिए।

सो कार्यक्रममा झापा जिल्ला सहकारी सङ्घका सञ्चालक केशव बस्नेत, कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ, संस्था सञ्चालक समितिका सदस्य जगतबहादुर तामाङ लगायतले आ–आफ्ना धारणा राखेका थिए। ।

सम्बन्धित खबर