
काठमाडौं । अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू गरेको छ । मन्त्रालयले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरूसँग परामर्श गर्दै छलफल थालेको हो ।
छलफलमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित र यथार्थपरक बजेट ल्याउने दाबी गरेका छन् । यर्थाथपरक बजेट आउँदा बीचबीचमा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने उनको भनाइ छ ।
अर्थमन्त्री पौडेले बजेटको सिद्धान्त, मूल्य मान्यतालाई आत्मसात् गरी बजेट बनाउने र विगतको अनुभवबाट शिक्षा लिएर अघि बढ्ने बताए।
विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले जीवन्त र प्रभावकारी बजेट बनाउने, नीति तथा कार्यक्रम र बजेटबीच तादाम्यता मिलाएर आउँदो आर्थिक वर्षको बजेट बनाउने बताए। उनले बैठकमा १६ बुँदे सुझाव दिएका छन् ।
राष्ट्रिय स्रोत अनुमान समितिले आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६५ करोड रुपैयाँको सीमाभित्र रहेर बजेट ल्याउन सकिने गरी सरकारलाई सिफारिश गरेको छ ।