२०८१ फागुन २१, बुधवार , ०३:५२:४० बजे

Sajhamanch
'

आम्दानीमा एमाले सबैभन्दा बलियो, कांग्रेस र माओवादीको भन्दा रास्वपाको आम्दानी धेरै

बुधवार, फागुन २१, २०८१

काठमाडौं । निर्वाचन आयोगमा कायम रहेका १२१ दलमध्ये ८२ वटा दलले मात्रै समयमै लेखापरीक्षण प्रतिवेदन बुझाएका छन् । प्रतिवेदन नबुझाउने ३२ वटा दललाई काराबाहीको तयारी थालेको आयोगकी प्रवक्ता निता पौडेल अर्यालले बताए।

आर्थिक वर्ष सकिएको ६ महिनाभित्र दलहरूले आयरव्ययसहितको लेखापरीक्षण प्रतिवेदन निर्वाचन आयोगमा बुझाएर सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था छ ।

आयोगमा बुझाएको विवरण अनुसार नेकपा एमाले सबैभन्दा धनी र नाफामा रहेको एक मात्र पार्टीका रूपमा देखिएको छ । एमालेले गएको आर्थिक वर्षमा १४ करोड ७९ लाख ५ हजार आम्दानी र ७ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ । एमालेले पार्टी सदस्यता शुल्क शीर्षकमा मात्रै ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ सङ्कलन गरेको छ ।

नेपाली कांग्रेस भने आम्दानीका हिसाबले नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भन्दा पनि कमजोर देखिएको छ । कांग्रेसले २ करोड ३२ लाख रुपैयाँ घाटा बेहोरेको प्रतिवेदन निर्वाचन आयोगमा पेश गरेको छ । कांग्रेसले गएको आर्थिक वर्षमा २ करोड ५९ लाख आम्दानी र ४ करोड रुपैयाँ खर्च गरेको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) ले १ करोड ८६ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेको छ । माओवादीले ५३ हजार रुपैयाँ घाटाको हिसाब देखाएको छ । रास्वपाले ३ करोड ८० लाख रुपैयाँ आम्दानी र ६ करोड ५० लाख खर्च भएको लेखा परीक्षण प्रतिवेदन आयोगमा पेश गरेको छ ।

सम्बन्धित खबर