२०८१ फागुन २१, बुधवार , ०३:३८:४६ बजे

Sajhamanch
'

अमेरिकाले फर्काएका नेपालीसँग प्रहरीको सोधपुछ

बुधवार, फागुन २१, २०८१

काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अमेरिकाबाट निष्कासनमा परी स्वदेश फर्काइएका नेपालीहरूसँग सोधपुछ गरेको छ ।

अमेरिकी विमानको चार्टर्ड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएलगत्तै अध्यागमनले प्रक्रिया पुर्‍याएर प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्युरो लगेर उनीहरूलाई सोधपुछ गरिएको हो ।

ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार प्रारम्भिक सोधपुछका क्रममा अध्यागमन कानून उल्लङ्घनको आरोपमा उनीहरूलाई फर्काएको पाइएको छ । फर्काइएकाहरूले अमेरिका पठाउनेमाथि मुद्दा दर्ता गर्न भने इच्छा नदेखाएको कुँवरले जानकारी दिए।

आज बिहान अमेरिकाले आठ जनालाई चार्टर्ड विमानमार्फत काठमाण्डौ ल्याइदिएको हो । यस्तै एक जना नियमित उडानबाट आएकाले नौ जना सबैलाई प्रहरीको जिम्मा लगाएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेको मिति अर्थात् जनवरी २० तारिखयता आज आएका ९ जनासहित ३६ जना नेपाली डिपोर्ट भएका अध्यागन कार्यालयले जनाएको छ ।

अमेरिकाले आधिकारिक कागजात नभएका नेपालीलाई स्वदेश फर्काएको हो । अमेरिकाको सरकारी तथ्याङ्क अनुसार यसअघि सन् २०१९ देखि २०२४ सम्ममा पनि ३८९ जना नेपाली देश निकालामा परेका थिए ।

यसअघि राष्ट्रपति जो बाइडनको कार्यकालमा झन्डै पाँच हजार जना नेपाली अवैध रूपमा अमेरिका प्रवेश गरेका बताइएको थियो ।

सम्बन्धित खबर