
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिकासँगको दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डले टस जितेको छ । लाहोरको गद्दाफी स्टेडियममा टस जितेर न्युजिल्यान्डका कप्तान मिचेल स्यान्टनरले ब्याटिङ रोजेका छन् ।
आजको खेलमा न्युजिल्यान्डको टोलीमा कप्तान स्यान्टनरसँगै विल योङ्ग, रचिन रविन्द्र, केन विलियमसन, ड्यारेल मिचेल, टम लाथम, ग्लेन फिलिप्स, माइकल ब्रेसवेल, म्याट हेनरी केइल जेमिसन र विलियम ओरोर्के छन् ।
यस्तै दक्षिण अफ्रिकाको टोलीमा कप्तान बभुमासँगै रायन रिकेलटन, रसी भान डेर डसेन, एडन मारक्रम, हेनरिच क्लासेन, डेभिड मिलर, विआन मुल्डेर, मार्को यान्सेन, केशव महाराज, कगिसो रबाडा र लुङ्गी एन्गिडी छन् ।
च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच अहिलेसम्म दुई पटक भेट भएकोमा दुवै टोलीले एकरएक खेल जितेका छन् । यस्तै एकदिवसीय क्रिकेटमा दुई टोलीबीच ७३ पटक भेट भएकोमा दक्षिण अफ्रिकाले ४२ र न्युजिल्यान्डले २६ खेल जितेको छ । यस्तै पाँच खेल नतिजाविहीन भएको छ ।
दक्षिण अफ्रिका समूह ‘बी’ को विजेता र न्युजिल्यान्ड समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । यो खेल जित्ने टोलीले फाइनलमा भारतसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल आउँदो आइतवार फागुन २६ गते दुबईमा हुनेछ ।
आठ वटा टोली सहभागी च्याम्पियन्स ट्रफीमा समूह ‘ए’ बाट बङ्गलादेश र आयोजक पाकिस्तान तथा समूह ‘बी’ बाट इङ्गल्यान्ड र अफगानिस्तान समूह चरणबाट बाहिरिएका थिए ।