
काठमाडौं । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले नेपालको चिया निर्यातमा किसानले अनेकौं समस्या झेल्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले इलामको विशेषता सुनाउँदै त्यहाँका किसानले भोग्नुपरेको समस्याका विषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरे । सुहाङ इलाम क्षेत्र नम्बर २ का जनप्रतिनिधि हुन् ।
गत उपनिर्वाचनबाट निर्वाचित भएर संसद् छिरेका नेम्वाङले इलाममा उत्पादित कृषिजन्य वस्तुबाट नेपाल सरकारको सिंगो अर्थतन्त्रलाई फाइदा पुग्ने पनि बताए ।
‘कृषिको क्षेत्रमा धेरै सम्भावना र विशेषता बोकेको जिल्ला हो हाम्रो सुन्दर इलाम । जहाँ प्रशस्त चिया, अलैंची, छुर्पी, कुचोजस्ता वस्तुहरू उत्पादन हुन्छ । जसले नेपालको अर्थतन्त्रमा सकारात्मक भूमिका पनि खेलेका छन्,’ उनले इलामबारे सुनाए ।
लगत्तै उनले सम्भावना हुँदाहुँदै पनि नेपालले विश्वस्तरिय फोरमहरूमा कमजोर सहभागीता जनाउने गरेको पनि सुनाए ।
‘इलामको चियाले थुप्रै विधामा प्रथम स्थान हासिल गर्न सकेको छ । प्रत्येक वर्ष अर्बौंको चिया निर्यात हुँदा त्यसैले धेरैलाई रोजगारी पनि दिएको छ,’ नेम्वाङले भने ।
उनले चिया निर्यातमा समस्या रहेको भन्दै किसानहरू निराश भएको पनि बताए ।
‘निर्यात गर्दा अनेकौं समस्या झेल्नुपर्दा उद्यमीहरू निकै निराश छन् । म यी सबै समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’ नेम्वाङले भनेका छन् ।
सरकारले ध्यान दिन हो भने नेपालले चियाबाट अझै धेरै फाइदा लिनसक्ने उनको भनाइ थियो ।
‘सरकारको ध्यान राम्रोसँग जाने हो भने नेपालले यसको तीन चार गुणा बढी फाइदा लिनसक्छ । विश्वप्रख्यात विश्व चिया फोरममा नेपालको सहभागीता कमजोर छ,’ नेम्वाङले भने, ‘निर्यात गर्दा अनेकौं समस्या झेल्नुपर्दा उद्यमीहरू निकै निराश छन् । म यी सबै समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’