
काठमाडौं । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) बाट सन्न्यासको घोषणा गरेका छन् ।
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटबाट बाहिरिएपछि अस्ट्रेलियाका कप्तान स्मिथले ५० ओभरको क्रिकेटबाट सन्न्यास लिएका हुन् । हिजो भएको पहिलो सेमिफाइनलमा भारतसँग ४ विकेटले पराजित हुँदै अस्ट्रेलिया च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो ।
३५ वर्षीय स्मिथले १७० ओडीआईमा ४३ दशमलव २८ को औसतमा १२ शतक र ३५ अर्धशतकसहित ५ हजार ८०० रन बनाएका छन् । उनले एकदिवसीयमा अस्ट्रेलियाका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडीको १२औं स्थानमा छन् ।
अस्ट्रेलियाले सन् २०१५ र २०२३ को एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जित्दा स्मिथ टोलीको सदस्य पनि थिए । स्टिभ स्मिथले ६४ पटक अस्ट्रेलियाको नेतृत्व गर्दा ३२ खेलमा जीत र २८ खेलमा हार बेहोरेका छन् भने चार खेल नतिजाविहीन भएको छ ।
नियमित कप्तान प्याट कमिन्स चोटका कारण टोलीबाट बाहिरिएपछि स्मिथले च्याम्पियन्स ट्रफीमा अन्तरिम कप्तानको जिम्मेवारी सम्हालेका थिए । स्मिथले टेस्ट क्रिकेट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटलाई भने निरन्तरता दिनेछन् ।