
झापा । आज फागुन २१ गते, सुखानी शहीद स्मृति दिवस । २०२९ साल फागुन २१ गते भद्रपुर कारागारबाट इलाम जेल सार्ने बहानामा इलाम–झापाको सिमाना सुखानीको जंगलमा तत्कालीन शासकहरुले कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकै ठाउँमा गोली हानेर मारेको दिन ।
तत्कालीन झापा विद्रोहका पाँचजना नेताहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालीन सरकारले सुखानीको जंगलमा हत्या गरेको थियो ।
प्रजातन्त्र बहाली पछि २०४७ सालदेखि हरेक वर्ष यो दिनलाई विशेष कार्यक्रमहरुको आयोजना गरेर कम्युनिष्ट पार्टीहरुले ती शहीदहरुको स्मरण गरिरहेका छन् ।
नेकपा (एमाले) झापा र इलामले संयुक्त कार्यक्रमको आयोजना गरेर आज बिहान सुखानी शदाहत स्थलमा स्मृति दिवस मनाउँदैछन् ।
सोही सन्दर्भमा आज झापाको बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा जनसांस्कृतिक महासंघले जनवादी गायकहरुको सामुहिक प्रस्तुति पस्कने तयारी गरेको जनाइएको छ ।
एमालेले केन्द्रीय उपाध्यक्ष गुरु बरालको प्रमुख आतिथ्यतामा बिहान साढे ८ बजे शदाहत स्थल सुखानीमा श्रद्धाञ्जली सभा र दिउँसो २ बजेदेखि जिल्ला पार्टी कार्यालय बिर्तामोडमा जनवादी सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको जिल्ला सचिव तुलसी कार्कीले जानकारी दिएका हुन् ।
स्रष्टा आवाज कार्यक्रममा प्रगतिशिल साहित्यकार, अग्रज पत्रकार चन्द्र भण्डारी लगायतका जनकलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।