
मेचीनगर । क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत मेचीनगर नगरपालिकाले घरघरमा गएर बिरामीको उपचार र लगत संकलन गरिरहेको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगरलाई पाँच वर्षभित्र क्षयरोग मुक्त पालिका घोषणा अभियानलाई सार्थकता दिन घरघरमा पुगेर बिरामीको स्वास्थ्य र लगत संकलन गरिरहेको बताएकी हुन् ।
‘‘आगामी २०८३ सालमा मेचीनगरलाई क्षयरोग मुक्त पालिका घोषणा गर्नु पर्नेछ’ सापकोटाले भनिन्, ‘३ वर्ष भइसक्यो, अब २ वर्षभित्र अभियान सफल बनाउने गरी काममा लागेका छौँ ।’
स्वास्थ्य शाखाका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि माघसम्ममा ११४ जना क्षयरोगका बिरामी भेटिएका छन् ।
त्यस्तै गत आर्थिक वर्ष २०८०/०८१ मा २०५ जना क्षयरोगका बिरामी भेटिएका थिए भने २०७९/०८० मा २०० जना क्षयरोगका बिरामी भेटिएको तथ्याङ्क छ ।
क्षयरोगका बिरामीलाई विगतमा मेची आम्दा अस्पतालमा उपचार गरिएको थियो भने अहिले मेचीनगर आधारभूत अस्पतालमा उपचारको व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताइन् ।
गत महिना माघमा कोशी प्रदेश सरकारको सहयोगमा एआई प्रविधिबाट क्षयरोग रोगका शंकास्पद ५०० जना बिरामीलाई छातीको एक्सरे लगायतका उपचार निःशुल्क गरिएको शाखा प्रमुख सापकोटाले जानकारी दिइन् ।
उनका अनुसार क्षयरोग रोगका प्रत्येक बिरामीलाई वर्षेनी पोसिलो खानेकुरा प्याकेजमा दिने गरिएको छ । जसमा एक बोरा चामल, एक क्यारेट अण्डा, एक लिटर खानेतेल, एक केजी बदाम, एक केजी मिक्स सातु र एक केजी मुसुरी दाल दिने गरिएको छ ।
लगत संकलन गरिएका क्षयरोग रोगका बिरामीलाई निगरानीमा राखेर उपचारमा फलोअप गरिरहेको उनको भनाई छ ।