
काठमाडौं । स्वरुप तथा ढाला परिवर्तन गरेर चलाइएका टिपरमाथि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहा पथले अभियान नै सञ्चालन गरेर टिपरमाथि कारबाही सुरु गरेको हो ।
१८ फागुनको रातिबाट कारबाही सुरु गरेको प्रहरीले एकै दिनमा ४२ वटा टिपरलाई नियन्त्रणमा लिएर कारबाही थालिएको उपत्यका ट्राफिक कार्यालयका एसएसपी विनोद घिमिरेले बताए ।
‘नियम विपरीत सञ्चालन भएका टिपरमाथि कारबाही अभियान थालेका छौं । एकै दिन ४२ टिपरलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएका छौं’, एसएसपी घिमिरेले अनलाइनखबरसँग भने ।
उनका अनुसार ढाला थपघट गरी स्वरुप परिवर्तन गरिएका २७ वटा, ओभरलोड बोकेका १० वटा र कागजपत्र नभएका ५ वटा टिपरलाई नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा रहेका टिपरकाहरुको ढाला हटाउने र ओभरलोड मिलान गरी कारबाही गरेर मात्रै छाड्ने प्रहरीले जनाएको छ ।